नियम १९
इजाजतपत्र निलम्बन गर्दा अपनाउनु पर्ने कार्यविधि
(१) ऐनको दफा २० बमोजिम नियन्त्रकले कुनै प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र निलम्बन गर्नु परेमा देहाय बमोजिमको कार्यविधि पूरा गर्नु पर्नेछ :-
(क) इजाजतपत्र प्रदान गर्दाका बखत पेश गरेको कागजात, विवरण, वित्तीय तथा भौतिक स्रोतमा देखिएको फरकको सम्बन्धमा
प्रमाणीकरण गर्ने निकायसँग लिखित स्पष्टीकरण माग गर्ने,
(ख) प्रमाणीकरण गर्ने निकायसँग इजाजतपत्र प्राप्त गर्दाका बखत पेश गरेको पूँजीगत संरचनामा फरक देखिएको सम्बन्धमा
जाँचबुझ गर्ने प्रयोजनका लागि प्रमाणीकरण गर्ने निकायको नाममा रहेको नगद तथा अन्य वित्तीय स्रोतको पुष्ट्याइँ माग गर्ने,
(ग) खण्ड (ख) बमोजिम वित्तीय स्रोतको पुष्ट्याइँ प्राप्त नभएसम्म त्यस्तो प्रमाणीकरण गर्ने निकाय वा निजको नातेदारको नाममा रहेको बैंक खाता रोक्का गर्न लगाउने ।
(२) उपनियम (१) को खण्ड (क) बमोजिम लिखित स्पष्टीकरण माग गरिएकोमा प्रमाणीकरण गर्ने निकायले त्यसरी स्पष्टीकरण माग गरिएको मितिले तीन दिनभित्र नियन्त्रक समक्ष लिखित स्पष्टीकरण पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको कारबाहीबाट प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र निलम्बन गर्नु पर्ने मनासिव कारण देखिएमा नियन्त्रकले त्यस्तो प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र निलम्बन गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम कुनै प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र निलम्बन गर्नु परेमा त्यस्तो निलम्बनको अवधि तीस दिनभन्दा बढी हुने छैन ।
(५) उपनियम (४) बमोजिमको अवधि भित्र निलम्बन गरिएको इजाजतपत्रको कारबाहीको अन्तिम टुङ्गो लगाई सक्नु पर्नेछ ।
(६) उपनियम (३) बमोजिम प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र निलम्बन गरिएको कुराको सूचना राष्ट्रियस्तरको कुनै दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम सूचना प्रकाशन गर्दा लागेको खर्च सम्बन्धित प्रमाणीकरण गर्ने निकायले व्यहोर्नु पर्नेछ ।